सुदूरपश्चिम प्रदेश सभाले सांसदहरूलाई ल्यापटप वितरण गर्ने भएको छ । प्रदेश सभा सचिवालयले ल्यापटप खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै असारभित्रै सांसदहरूलाई ल्यापटप वितरण गरिने जनाएको छ । प्रदेश सरकारका आठजना मन्त्रीबाहेक सभामुख, उपसभामुखसहित ४५ जना प्रदेश सभा सदस्यलाई एकरएकवटा ल्यापटप प्रदान गरिने प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य छन् ।

प्रदेश सरकारबाट स्वीकृत कार्यक्रम र बजेटअनुसार प्रदेश सभाले ल्यापटप खरिद गरेको सचिव धामीले बताए । ‘प्रदेश सरकारले पठाएको कार्यक्रम र बजेट हो । खरिद प्रक्रिया अन्तिम चरणमा पुगेकाले यसै महिनाभित्र सांसदज्यूहरूलाई ल्यापटप वितरण गर्ने योजना छ,’ सचिव धामीले भने । सांसदहरूलाई प्रविधिसँग परिचित गराउने उद्देश्यले ल्यापटप वितरण गरिने सचिवालयको भनाइ छ । ल्यापटप पाएपछि इमेल, इन्टरनेट चलाउन र प्रविधिमैत्री हुन सहज हुने सचिवालयले जनाएको छ ।
४५ वटा ल्यापटप खरिदका लागि करबाहेक २४ लाख ५४ हजार ६२५ रुपैयाँमा उग्रतारा टेक्निकल गुड्स सप्लायर्सको प्रस्ताव स्वीकृत भएको प्रदेश सभा सचिवालयका लेखा अधिकृत तीर्थराज ओझाले जानकारी दिए । बजेट विनियोजन गर्ने वेला मन्त्रीबाहेक प्रदेश सभामा ४६ सदस्य रहेकाले त्यति नै संख्यामा ल्यापटप खरिद गरिएको बताइएको छ । प्रदेश सभा सदस्य प्रकाश रावल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएपछि बाँकी ४५ जनालाई ल्यापटप वितरण गर्न लागिएको हो ।