Sunday, January 24, 2021

‘एक रात पूर्वेली रानीसंग’

नियात्रा:

-खगेन्द्र गिरि ‘कोपिला’

बिहानको साढे छ बजेको थियो बरगाछी चोकमा पुग्दा । उभिएको थियो एउटा बस हाम्रै पखाईमा । सबैजना ख¥याकखुरुक जम्मा भइहाल्यौं एकै छिनमा । अलि ढिलो गर्नु भो राजेन्द्र गुरागाइँले । उहाँलाई ढिलो गराउनु भएछ कवि मार्तण्डदम्पत्तिले । उहाँहरु आइपुगेपछि स्टार्ट भयो बस, लाग्यौं उत्तरतिर । निर्मला कोइराला र लक्ष्मी पोखरेलले हात हल्लाएर गर्नु भो बिदाई ।

हाम्रो यो टोली भेला भएको हो विराटनगरमा । सन्दर्भ हो नेपाल भारत साहित्य सङ्गोष्ठी । दुई हजार छहत्तर साल जेष्ठ महिनाको मध्यतिर । आयोजक हो जगन्नाथ गुरागाई प्रतिष्ठान र संयोजक हुनुहुन्छ राजेन्द्र गुरागाई । विराटनगर महानगरपालिकाको सभागृहमा भएको थियो एउटा भव्य कार्यक्रम । मेयरले गरेका थिए उद्घाटन । त्यही कार्यक्रमको रिमरिमे सम्झना ओइलिन नपाउँदै हामी हान्निएका हौं धनकुटातर्फ ।
प्रचण्ड गर्मीको मौसम । बिहानको बेला । भर्खर आँखा मिचेर निद्राबाट ब्युझिने चेष्टा गर्दैछ बिराटनगरले । सडक फराकिलो बनाउने कार्य चलिरहेकोले सडक वरपर ढुङ्गा गिट्टी छरपष्ट छन् । वायुमण्डल धुलाम्य भएको छ । धुलो मिसिएको भए पनि बिहानको चिसोचिसो हावा बडो प्रितीकर लागिरहेको छ गर्मी याममा ।

‘धुलो, धुँवा, धन्दा र धान्धली मिसिएको छ काठमाडौंको हावामा’ भन्नु हुन्थ्यो ज्ञानुवाकर पौडेलले ।  यहाँ भने धुलोमात्रै मिसिएको रहेछ विराटनगरको हावामा’ निस्कियो मेरो मुखबाट ।‘हैन अलअलि धन पनि मिसिएको छ’ थप्नु भो राजेन्द्र गुरागाईले । गलल्ल हाँस्यौं सबै जना । नेपाली नबुझेर होला भारतीय कविहरु अलमल्ल परे । हिन्दीमा अनुवाद गरेपछि मज्जाले हाँस्नु भो सुशिल शैली र थपे अरुले पनि उन्मुक्त हाँसो ।

मार्तण्डज्यूकी पत्नि मधुम्यामले राजेन्द्र गुरागाइँको ससुराली घरमा पस्ने रहर गर्नु भयो । देर हो जाएगा भनेर हामीले नरोकिउँ भनेर कर गरे पनि नारी हठको अगाडि कसैको केही लागेन । उहाँहरु केही बेर अलमलिनु भो त्यहाँ । ‘कितने प्यारे लोग हैं’ राजेन्द्र गुरागाइँका ससुराली घरका मान्छेलाई भेटेर फर्कदा मधुम्यामको मुखबाट निकै पटक पोखियो यो वाक्य । निकै सन्तुष्ट देखिनु भो उहाँ । बास्तबमा त्यो स्नेह एउटा परिवारिप्रति मात्र प्रकट भएको नभएर हामी सबै नेपालीप्रति प्रकट भएका स्नेहसिक्त शब्द ठानें मैले ।

तीनपैनी चोकमा उभिनु भएको थियो विवश पोखरेल । हाँस्दै चढ्नु भो बसमा । ‘अब हट्ने भो विवशता, फैलिने भो खुशी’ मैले जिस्क्याइहालेँ ।
सडक वरपर उभिएका विराटनगरका कलकारखाना र ठूलठूला भवनहरु आँखामा ठोक्किन थाले । विराटनगरलाई नेपालको सबैभन्दा ठूलो औद्योगिक नगरको परिचय दिनको निम्ति प्रयाप्त देखिएका छन् सडक वरपरका औद्योगिक संरचनाहरु । ऊ त्यो नगेन्द्रप्रसाद रिजालको मिल, ऊ त्यो विराटगेट, ऊ त्यो हुलासको कारखाना, ऊ त्यो टेलिभिजन बनाउने कारखाना, ऊ त्यो फलानो बैंक, सुधादिज्यु चोर औंला सोझ्याएर बससंगै दुगुरिइरहेका संरचनाहरु चिनाउँदै हुनुहुन्छ । म आँखाले सकीनसकी टिप्ने प्रयत्न गर्दे छु ।

टंकीसिनुबारीनिर मोरङ जिल्ला पार गरि सुनसरी जिल्लामा प्रवेश गरेको थाहै पाइएन । दुहबी र खनारका बजार क्षेत्र पार गरेर इटहरि पुग्यौं । राधा भट्टराई थपिनु भो त्यहाँ । उता बसको गति बढ्न लाग्यो, यता गफ र हाँसोको गति पनि बढ्न थाल्यो बसभित्र । इटहरी काटेर उँभोउँभो लागेपछि प्रकृतिमात्रै होइन सामाजिक वातावरण पनि केही फरकफरक देखिन थाल्यो । केही किलोमिटरको छोटो दुरीमैं प्रकृति र मानव संस्कृतिको यस्तो भिन्नता संसारमा सायदै अन्यत्र भेटिएला । चुरे भाबर भनिने जङ्गलमा प्रवेश गरेपछि मन पनि शीलत भएर आयो । उहिले चारकोशे झाडी भनिने यो जङ्गल चार कोश चाक्लो थियो रे । आजभोलि मुस्किलले पाँच किलोमिटर भन्दा बढी चाक्लो देखिएन । रुख पनि देखिए निकै पातलापातला ।

नाङ्गो जङ्गलभित्र थुप्रै चिहान देख्यौं । जङ्गल काटेर धरान प्रवेश नगरुन्जेल सडक वरपर सिमेन्टबाट बनेका अनगीन्ती चिहानहरु देखिए । यी चिहानहरु रुखभन्दा पनि धेरै छन् कि जस्तो लागिरह्यो । चीनमा समाधि र चिहानहरुले थुप्रै जग्गालाई खेर फालेको हुँदा मान्छे मरेपछि जलाउने चलन शुरु गरेको छ रे । पुराना चिहानहरुलाई पनि उधिनेर बस्ती बसाउँदै छ रे । बाँचेका मान्छेलाई भन्दा मरेका मान्छेको चिहानका लागि धेरै जमिन छुट्टयाउनु परेपछि यो धर्ती कति साँगुरो हुने होला भविष्यमा ? पारदर्शी जंगलभित्रका चिहानले गरेको जंगल अतिक्रमणलाई हेर्दै बाटो काट्दा कहाली लागेर आयो ।

जङगल छिचोल्ने बित्तिकै धरानको छाता चोक आइहाल्यो । छाताचोकको चहलपहल धरानको सानो छनक दिदै थियो । नेपालको सबैभन्दा फेशनेबल शहर मानिन्छ धरानलाई । बस रोकेर हामी लाग्यौं गीता मन्दिरतर्फ । मन्दिरको प्राङ्गणमा हात जोडेर उभिनु भएको छ प्रा.डा. गोपाल भण्डारी । स्वागतार्थ शरणकुमार राई पनि उभिनु भएको देखेँ । अरुअरु धेरै अनुहारको मुस्कान पनि पोखियो हाम्रो स्वागतमा । मन्दिरको तर्फबाट सबै आगन्तुकलाई रुद्राक्षको माला लगाएर सम्मान गरियो । उपहार स्वरुप दिइयो एउटाएउटा गीताको पुस्तक पनि । साहित्यको रङमा मिसियो आस्थाको रङ्ग । बन्यो इन्द्रेणी भन्दा पनि सुन्दर बिम्ब । खुवाइयो पुरी, तरकारी र खीरको सात्विक भोजन । एकछिन गरियो सङ्क्षिप्त कार्यक्रम पनि । केही मन्तव्य दिइए, केही कविता पनि पाठ भए । फेरि बिदा लियौं र लाग्यौं उत्तरतर्फ ।
यहाँ हाम्रो टोलीमा थपिनु भयो प्रा.डा. गोपाल भण्डारी पनि ।

धरानको बजारमा अलमलिनु थिएन हामीलाई । सिधै उक्लिन थाल्यौं चुरे पहाड । धरानको प्रसिद्ध बुढासुब्बा मन्दिर, विजयपुर किल्ला र दन्तकाली मन्दिर पूर्वपट्टि छुटे । सडक वरपर र बसको झ्यालबाट देखिने परपरका दृश्यहरुमा धरानको सौन्दर्य छताछुल्ल पोखिन थाल्यो । टिप्न थाले हाम्रा आँखाले ती दृश्यलाई । बस घ्यारघ्यार गर्दै उकालो लागिरह्यो । पूर्वतिर सेउतिखोला र पश्चिमपट्टि सर्दु खोलाले च्याप्दैच्याप्दै ल्याएको धरान लमतन्न सुतेको छ एउटा साँगुरो फाँटमाथि । बढ्दै गएको शहरीकरणबाट निसास्सिएर उकुसमुकुस भइरहेजस्तो लाग्यो धरान । साराङ्गाडाँडाको घुमाउरो उकालो काटेर शिखरबास पुगेपछि भने हुलंगो भएर आयो मन । ड्राइभरको देब्रेपट्टिको सिटमा बसेको छु म । मेरो छेउमा हुनुहुन्छ भारतको भिवानीबाट आउनु भएको मृदुभाषी कवि अशोक भाटी र उहाँमा शालीन पत्नि । चुरे पहाडका हरिया पाखामा घुम्दैफिर्दै उँभोउँभो लागि रहेको छ नागबेली सडक । परपरका दृश्यहरु पनि पस्किरहेका छन् हरियो मुस्कान नै ।

‘ऊ कोशी !’ चिच्याउनु भयो डा. भण्डारी । एउटा कुइनेटो छिचोल्दै गर्दा झल्यास्स दृश्यपान भयो कोशी नदीको । कौशिकी र कौशितकी नामले परापूर्वकालदेखि चिनिदै आएको यो नदीको ठूलो महत्व छ धार्मिक प्रसङ्गमा । कोशीले भत्काएका, डुबाएका, बिथोलेका, चिथोरेका बगरहरु अस्ती काठमाडौंदेखि प्लेनबाट विराटनगर आउँदा देखिएका थिए । सात ओटा नदीहरु मिसिएर पहाडबाट तराई झरेपछि सप्तकोशी अनेकौं भँगालाहरुमा बाँडिएर सुनसरी र सप्तरी जिल्लाका समतल फाँटहरुलाई क्षतविक्षत पार्दै भारतको विहारमा प्रवेश गर्छ । यहाँ निरबाट देखिएको कोशी भने निकै लजालु र निकै साँगुरिएको देखियो । पश्चिमपट्टिका पहाडका कुनै खोंच र कन्दराभित्र अधेका (बाहिर नदेखिने) महारानीजस्तै बनेर संकोच मान्दै बगिरहेको होला ।

जारी नै छन् सुधा पौडेल दिज्यूका धार्मिक, आध्यात्मिक प्रसङ्गका गफ । उहाँका रोचक गफपट्टि कान लगाउँ कि यतातिरको हरितिमा सौन्दर्यपट्टि आँखा लगाउँ? अलमलमा छु म । यो त्यो हो, त्यो यो हो भनेर यतातिरको बेलीबिस्तार लगाउँदै हुनुहन्छ डा.भण्डारी पनि । हामी उहाँको हाते संकेततर्फ दृष्टि सोझ्याउन पुग्छौं र जे देख्यो त्यही हेरेर रोमाञ्चित बनिहाल्छौं । उहाँ धरानको स्थानिय भएकोले पनि हाम्रालागि आधिकारिक नै बन्न पुग्छन् उहाँद्वारा सम्प्रेषित हरेक जानकारी ।

निकै रमाउनु भएको छ अशोक भाटीका दम्पति । जे देख्यो त्यहीं नै पोखिन्छ उहाँहरुको कुतुहलता । सकुन्जेल र जानेसम्म, थाह पाएसम्म उहाँहरुको कुतुहलताको निरुपण गर्ने चेष्टा गरिरहेको छु म पनि । उसो त म आफै पनि कुतुहलता र जिज्ञासाको शीतले भिज्नुसम्म भिजेको छु निथु्रक्कै । जे भन्छु म, रुचि लिएर सुनिरहनु हुन्छ उहाँहरु ।

‘अरे आप को तो बहुत जानकारी है?’ अशोकजी बेलाबेला भनिरहनु हुन्छ, मानौं मैले कुनै अलौकिक तत्वको आविष्कार गरेर त्यसैको विवेचना गरिरहेको छु । फिस्स हाँस्छु म र भन्छु— ‘अपना देश है, थोडा थोडा जानकारी तो अपने आप हो ही जाता है’ ।

धरानबाट उकालो चढेको डेडघण्टामा ढलीमली गर्दै हामी भेडेटार पुग्यौं । हुन त धरानबाट भेडेटारको दुरी बीस किलोमिटर मात्रै हो तर ठाउँठाउँमा ओर्लदै हेर्दै फोटो खिच्दै बीस किलोमिटर छिचोल्न हामीलाई डेड घण्टा लागिहाल्यो । एउटा फराकिलो थुम्कोमाथि थपक्क बसेको भेडेटार खासै ठूलो बजार त होइन । गाउँ नै भन्दा पनि हुन्छ यसलाई । पातलो बस्ती छरिएको छ पहाडी थुम्काहरुमाथि । सडकको छेउछाउमा देखिए केही होटल, रेस्टोरेन्ट, लज । सबै मदिराजन्य पदार्थले झकिझकाऊ छन् । तरकारी र पहाडी कृषि उत्पादनका पसल पनि देखिए थुप्रै । वरिपरिका ससाना थुम्का सेता राता घरहरुले शोभायमान छन् । चोकैमा पूर्वी नेपालका एकजना नामी व्यक्तित्व इमानसिंह चेमजोङको सालिक ठडिएको छ । चोकबाट पूर्वतिर लागेपछि अलिपर एउटा पार्कमा विशाल शंखको आकृति देखियो । यो एउटै ढुङ्गालाई खोपेर बनाइएको नेपालकै सबैभन्दा ठूलो शंख हो रे । सेतो रङ्गको शंख पारिलो घाममा टलक्क टल्किएको छ । अनि टल्किएको छ भेडेटार पनि त्यसैको चमकमा । शंखपार्कमा बसेर एकछिन सुस्तायौं र नियाल्न थाल्यौं भेडेटार वरपरको प्राकृतिक छटालाई ।

खुला आकाश, चहकिलो घामको झुल्को, बादलका सेता बुट्टा, हरियालीले भरिएका पहाडी पाखा, थुम्काका विविध आकृतिहरु, दक्षिणतिर परपरसम्म फैलिएको मैदान र घाँटी ठाडो पारेर हेर्दा परपर उत्तरतिर देखिने श्वेत हिमचुचुराहरु । के रहेनछ र भेडेटारसंग? मोबाइलमा गुगल सर्च गरेर हेरँे । समुद्र सतहबाट एकहजार चार सय बीस मिटर उँचाईमा रहेछ यो ठाउँ । यति उँचाईमा बसेर संयुक्त रुपमा पस्किरहेको छ उँचो हिमालदेखि समतल तराइँका विविध बान्कीहरु ।

भेडेटारको अर्को गन्तव्य हो चाल्र्सपिक । पश्चिमपट्टिको एउटा अग्लो थुम्को । बेलायतका युवराज चाल्र्स कुनै समय यहाँ आइपुगेका थिए रे । त्यसपछि यो थुम्कोको नामै रह्यो चाल्र्सपिक । वरपरका पहाडी लहरहरु र दक्षिणतिरको मैदान यहाँबाट छर्लङ्गै देखिने हुँदा यो थुम्कोले भेडेटारको प्रचारप्रसारमा निकै सघाउ पु¥याएको छ । भेडेटार प्रेमिप्रेमिकाको यात्रा गर्ने आकर्षक गन्तव्य पनि बनेको रहेछ आजभोलि ।
निकै बेर हरायौं हामी भेडेटारमा । कोही कता, कोही कता छरिए । निर्बन्ध भयो मन । निर्बन्ध भए पाइला । प्रकृतिको सुरम्य वातावरणमा हराउँदा मनको थकान पनि मेटिएजस्तो अनुभूति हुँदो रहेछ । चिसो हावा, चिसो पानी, चिसै मौसम बेस्सरी रुच्यो खाना पनि । भोक मीठो कि? भोजन मीठो? निक्र्योल गर्न सकिएन तर खुवाई भने हाम्रो मीठै भएको मान्नु पर्छ यहाँ ।

राजेन्द्र गुरागाईलाई हम्मेहम्मे नै प¥यो मान्छेहरु बटुलेर हिंडाउन । एउटा भेटिए अर्र्को हराउने, अर्को भेटिए अर्को हराउने । भ्यागुत्ताको धार्नी पु¥याउन सकिन्न भन्ने उखान हामीमाथि चरितार्थ भएको छ यतिखेर ।

‘छिटो जाउँ धनकुटामा धेरै कार्यक्रम भ्याउनु छ’ भन्दै हुनुहुन्छ उहाँ । सुनेनन् कसैले । मन र आँखा रमाइरह्यो भने कान पनि कदाचित् मौन भैहाल्दो रहेछ कि क्या हो ! भेडेटारको मुसुक्क मुस्कुराइरहेको उज्यालो परिवेशलाई छोडेर हिड्न कसैको मनले मानेकै छैन ।
बसले हर्न लगाएर तारन्तार ताकेता गरेपछि अन्ततः हिड्नै प¥यो । भेडेटार छोडेको एकैछिनमा कार्कीछाप भन्ने ठाउँ आयो । कार्की थर भएका कुनै मानिसले कुनै राम्रो काम गरेर छाप छोडेको हुनाले यो नाम रहेको होला — मैले अनुमान गरेँ । डा.गोपाल भण्डारीले सहमतिमा टाउको हल्लाउनु भयो ।

अगाडि चारखाले गोलाई भन्ने पहराको फन्को मारेर तल झ¥यौं । सर्प बटारिएजस्तै चारपटक घुमेको छ यहाँनिर सडक । छेवैमा देखियो नमस्ते झरना । टिनीनी मोबाइलमा रमेशचन्द्र अधिकारीको फोन आयो । ‘भर्खर चारखाले गोलाईको फन्को मारेर नमस्ते गर्न लागेका छौं’ राजेन्द्र गुरागाईले उत्तर फर्काउनु भयो रमाइलो पाराले ।  ‘म्याग्दीको रुप्से झरना हेरिसकेकाहरुले त यो झरना नहेरे पनि हुन्छ हौ’ हतारमिश्रीत ताकेता आयो उताबाट ।

‘धेरै नपर्खाऔं है अब उहाँलाई’ गुरागाइँसरले पनि हतारमाथि हतार थपेपछि नमस्ते झरनालाई गरियो टाढैबाट नमस्ते । घुम्दैफिर्दै, ओरालो झर्दै सिमसुआ, फलामेटार, घण्टे र फेदी पनि बाटोमा आए, गए । गरजुआ काटेपछि अलिकति फराकिलो बगर र सानो खोला भेटियो । लेउतेखोला रहेछ नाम । खोलाको छेवैछेउ बाटो तेरपायाँतेरपायाँ हान्नियो । पानी थोरै भएपनि लेउतेखोलाले आफू वरपरको बगरलाई रसिलो बनाएको छ । किनारैकिनार निकैबेर कुदेपछि पल्लोछेउको लाबरबोटे पुग्यौं । अगाडि आयो उखुडाँडा । उखुको एउटै बोट नभएको यो ठाउँको नाम कसरी उखुडाँडा रह्यो होला? जिज्ञासा पोखें मैले फेरि डा.भण्डारीछेऊ । उहाँसंग पनि उत्तर रहेनछ । आआफ्ना अनुमान पोखे सबैले । मुलघाट भन्ने ठाउँमा तम्मर नदीको पुल नतर्दासम्म पनि निष्कर्श निस्किन सकेन । तम्मर पुगेपछि फेरि तम्मरको नामकरण बन्यो हाम्रो अनुमान र चर्चाको विषय । मैले पुस्तकहरुमा तमोर भनेर पढेको थिएँ । यहाँ कतै तमर त कतै तम्मर लेखिएको पाइयो । जे होस् मान्छेको मनको तम (कालो) पखाल्ने स्नेहसरिता बनेर बगिरहेको छ यो नदी युगौंदेखि । तमसंग नै कुनै प्रत्यय जोडेर यसको नामकरण भएको हुनुपर्छ । भनिरह्यो मेरो मनले । मन्दिर देखियो छेउमा । ‘विश्रान्ती मन्दिर हो’ सुधादिज्यूले चिनाउनु भो । ढोग्यौं टाढैबाट ।

‘ओहो भाइ तपाइँ पनि!’ एकाएक सुधादिज्यूले मेरो पिठ्यूमा धाप मारेर अँगालो हाल्नु भो । म झस्किएँ । मेरो मोबाइलको होमस्क्रिनमा स्वामी अवधेशानन्द गिरिज्यूको तस्वीर देखेपछि उहाँलाई आश्चर्य लागेको रहेछ । निकै बेर उहाँले अँगालो हालीरहनु भो मलाई । म पनि एउटा बालक आमाको काखमा खुम्चिएझैं खुम्चिरहेँ । हरिद्वारस्थित भारतमाता मन्दिरकी उहाँ साधिका हुनुहुँदो रहेछ । स्वामी सत्यमित्रानन्द गिरिज्यूकी उहाँ चेली । स्वामी सत्यमित्रानन्दका प्रिय शिष्य र उत्तराधिकारी स्वामी अवधेशानन्द गिरिज्यूलाई मैले पनि गुरु मानेको छु । आफू एकलव्यजस्तै बनेर मनमनै श्रद्धा पोखिरहन्छु । कुरा गर्दै जाँदा दिज्यूलाई मैले गुरुफुपु र उहाँले मलाई भदाशिष्य भन्नु पर्ने नाता पो जोडियो । भेडेटारदेखि वल्लोेपल्लो आसनमा बसेर यात्रा गर्ने अवसर जुर्नमा पनि केही संयोग त अवश्य नै छ । हरिद्वार गएर स्वामीज्यूको दर्शन गराउने वचन दिनु भएको छ दिज्यूले मलाई । उहाँका आध्यात्मिक प्रसङ्ग र डा. भण्डारीका ऐतिहासिक चर्चा सुन्दै सडक वरपरका नयाँनयाँ दृश्यहरु हेर्दै जानु पनि आफैमा एउटा निबन्धको पटाक्षेप भन्दा कम भएन ।

बिस्तारै माथिमाथि चढ्न थाल्यो सडक । रुद्रबारी, गुठीटार, पातलेखोला र बाख्रेखोला पार गरेर ठाडो उकालो लाग्दै गर्दै माथिपट्टिको पहाडी पाखोमा छरिएको धनकुटा बजारका छिरिमिरि दृश्यहरु आँखामा काउकुती लगाउन थाले । गोठगाउँ र आँटमाराको उकालो काटेपछि त आइहाल्यो धनकुटा ।

धरानदेखि धनकुटासम्म बाउन्न किलोमिटर तन्किएको यो बाटो बेलायतले बनाइदिएको हो रे । अन्यत्रका पहाडी बाटोहरु भन्दा अलि राम्रै लाग्यो यो । पहिरोले भत्काएको कतै देखिएन । बाटोमा भीर, पहरा, पुलपुलेसाहरु पनि कमै देखिए ।। ‘धनकुटाको लागि सूर्यबहादुर थापाको देन हो यो’ सधैं सम्झिदा रहेछन् धनकुटेहरु ।

ओलियौं बसपार्कमा । लाग्यौं लश्करै सिढी चढ्दै बजारतिर । बीच चोकमा भेटियो अन्जुली होटेल । ढोकैमा उभिनु भएको छ रमेशचन्द्र अधिकारी । बिजुली चम्किएजस्तै उज्यालो मुस्कान छर्नु भो हाम्रासामू । उहाँको स्वागतको आद्र्रताले भिज्न थाल्यौं हामी ।  ‘आम्मामामा पर्खिदापर्खिदा ज्यानै जालाजस्तो भो त हौ’ पर्खाईको झिंजो पोखिहाल्नु भो उहाँले । नेपाली भाषाको पूर्वीया लबज, त्यसैमा उहाँको मृदु मुस्कान । अँध्यारोमा टर्च बालेजस्तै चम्किरह्यो उहाँको हाँसो । ‘धन्न यति छिटो ल्याइपु¥याएको छु यो घुमन्ते टोलीलाई’ राजेन्द्र गुरागाईबाट आयो स्पष्टिकरण ।

‘लुलुलु अब भित्र पसम्’ मुकुन्द प्रयास नाम गरेका एकजना हँसिला युवा लाग्नु भो हाम्रा झोला ओसार्न ।  आजको हाम्रो आश्रयस्थल हो यो होटेल । एउटा कार्यक्रममा सहभागि हुनु छ, मन फुकाएर धनकुटा घुम्नु छ र आजको रात यही बिताउनु छ । अब केको हतार !
‘पहिले हिले जाउँ र एउटो कार्यक्रम भ्याइहालौं’ केही बेर थकान मेटौं भनेर सोच्दै थिएँ, हिंडाउन हतार गर्न थालीहाल्नु भो रमेशजी ।
बजारको साँगुरो बाटो हिड्यौं एकछिन । तल्लो कोप्चे र माथिल्लो कोप्चेमा विभक्त रहेछ बजार । माथिल्लो कोप्चेको बीचैमा भेट्यौं एउटा सुन्दर मन्दिर । नाम रहेछ निशान भगवति मन्दिर । परिवेश सुन्दर, शान्त र सफा । मन्दिरको आँगनमा पुगेपछि स्वतः बन्द भैहाले आँखा । मन र मस्तिष्क आफै नतमस्तक भैहाल्छ मन्दिरमा पुग्दा । ‘धनकुटाको पुरानो इतिहासको साक्षी हो यो मन्दिर’ ढाकाटोपी लगाएर पुजारीले इतिहास कोट्टयाउन लागे ।

बजारबाट अलिकति पल्तिर ढल्केपछि सल्लाको वन आयो । वनैवन लाग्यौं उकालो चढ्दै हिलेतर्फ । उ त्यो रेडियो नेपाल, ऊ त्यो सिडियो कार्यालय, ऊ त्यो टँुडिखेल, ऊ त्यो राजाको शिविर राख्ने ठाउँ, ऊ त्यो फलानो, त्यो ढिस्कानो, यादबनाथ तिमिल्सिनाले सम्हाले गाइडको जिम्मेवारी । लोकसेवा भन्ने ठाउँमा पुगेपछि रमेशचन्द्र अधिकारीले आफ्नो घर देखाउनु भो । लोकसेवा आयोगको कार्यालय यहाँ रहेकोले यहाँको नामै लोकसेवा रहेको रहेछ । त्यहाँबाट बाटो उँभोउँभो लाग्यो । एैंसेलु, लालीगुरास, उत्तीसका रुखहरु उभिएका छन् बाटो वरपर । बिहान मुलघाटको आसपासमा गर्मी ठाउँमा पाइने आँप, नरिवल, सुपारीका बोटहरु प्रशस्त देखिएका थिए । अहिले हिलेको पाखामा चिसो हावापानी हुने ठाउँमा पाइने लालीगुरास, एैंसेलुजस्ता बोटबिरुवा हेर्न पाइए । दशबारह किलोमिटरको दुरीमैं प्राकृतिक सम्पदाहरुको यस्तो पृथक उपस्थिति संसारमा अन्यत्र कहाँ पाइएला र? यस्तो विविधताको थलो हो हाम्रो नेपाल ।

धनकुटाबाट तेरह किलोमिटर कुदेपछि पुग्यौं हिले । धुम्म बादलले ढाकिएका छन् पाखोपखेरा । एउटा रमाइलो पहाडको काखमा थुपुक्क लुकेको हिलेको बजारी क्षेत्र निकै साँगुरो र अटेसमटेस लाग्यो । परपरका खुला पाखाहरु भने बादलले ढाकिएका भए पनि खुला छन् । बजारको बीचैमा तुम्बाको आकृति राखिएको छ । कोदोबाट बनेको एकखालको मदिराजन्य पेय पदार्थ पिउने भाँडोलाई भनिंदोरहेछ तुम्बा । अलि अगाडि सानो तर कलात्मक बौद्ध गुम्बा पनि भेटियो । भगवान बुद्धका पाउमा आस्थाका श्रद्धासुमन नचढाएर कसरी अगाडि बढ्नु?
दक्षिणतर्फ फर्किएको पाखो भए पनि यहाँको वातावरण ओसिलो लाग्यो । बादलका टुक्राहरु क्षणभरमैं हराउँछन् र क्षण भरमैं आकाशलाई टमक्क ढाकिदिन्छन् । हुस्सुले ढाकिरहने भएकोले यहाँ पारिलो घाम लाग्न पाउँदैन । त्यहि भएर वैसाखमा पनि हरिया नै छन् पाखापखेराहरु । वातावरण यति चिसो छ कि वैसाखमै घाम ताप्नु पर्ने ।

जताजतै पानी रसाएको देखिन्छ हिलेका पाखाभरी । ‘इतना पानी हरियाणा मे होता तो हम क्या क्या करते!’ यहाँको खेर गईरहेको पानीलाई देखेर उदेक मान्नु हुन्छ अशोक भाटी ।‘नेपाल विश्वको दोश्रो ठूलो पानीको भण्डार भएको देश हो । यस्ता ससाना कुलो र मूलहरुमा बग्ने पानीको यहाँ के गीन्ती’ मेरो उत्तरले फिस्स हाँसे उनी । भारतको रोहतक जिल्लाका पेयजल अधिकारीको रुपमा कार्यरत अशोक भाटीलाई यहाँको खेर गैरहेको पानी देखेर निकै उदेक लागेको स्पष्ट झल्किरहेको छ । मेरो पनि मनभित्र खेर गैरहेको नेपाली पानीले उदेक नलागेको त कहाँ हो र?

कुनै समय यहाँ पुगेर चिसो पानीले मुख धोएकी माला सिन्हाले भनेको एउटा दृष्टान्त सुनाएँ उनलाई । मैले एउटा पत्रिकामा कतै पढेको थिएँ— हिलेको चिसो पानीले मुख धोएपछि माला सिन्हालाई आफ्नो मुहार मेकअप गरेको भन्दा पनि सुन्दर र कोमल लागेको थियो रे । म अब यहीं घर बनाएर बस्छु, यही पानीले मुख धुन्छु र आधुनिक मेकअपलाई त्यागीदन्छु भनेकी थिइन् उनले । यो दृष्टान्त सुनेपछि अशोक भाटीकी श्रीमतीले पनि कुलोमा बगिरहेको पानीले मुख धोइहालिन् ।

शम्भुजीत बास्कोटाको ‘कलकल खोला साइँलीजी झरझर झरना, रातदिन साइलीजी तिम्रै सम्झना’ भन्ने गीत बज्यो पल्तिरको चिया पसलमा । यो गीतले हिलेकै सौन्दर्य सोपान पोखिरहेजस्तो लाग्यो । ‘कितना सुन्दर गाना है’ मैले हिन्दीमा उल्था गरेपछि मुन्टो हल्लाउँदै प्र्रशंसा गर्न लागे सुशील शैली । हिलेमा चलिरहेको चिसोचिसो बतास र यस गीतका सांगीतिक तरङ्गसंगसंगै उडिरह्यो मन । रमेश पौडेल दुगुर्दै आउनु भो हामीलाई भेट्न । प्रसिद्ध उद्घोषक र कवि रमेशले कोरेका कैयौं रेखाचित्रहरुले धेरैका साहित्यक कृतिको शोभा बढाएका छन् । हाल उहाँ रेडियो नेपालको क्षेत्रीय प्रबन्धक भएर धनकुटा पुग्नु भएको रहेछ । उहाँसंगै गफ गर्दै पुग्यौं एउटा थुम्कोको टुप्पोमा । अग्लो थुम्कोमा होराइजन नामको ठूलो होटल देखियो । होटलको प्राङ्गणबाट उत्तरतिर हिमाली चुचुराहरु छर्लङ्गै देखिए । कति लामो हो हिमाली श्रृङ्खला? कति गन्नु उत्तुङ्ग हिमशिखरहरु?

हिलेको प्राकृतिक छटालाई आँखाले टिपूँ कि क्यामेरामा कैद गरुँ म अलमलमा छु । जता हे¥यो उतै पङ्क्तिबद्ध पहाडमात्रै देखिन्छन् । पहाडैपहाडका अनगीन्ती लहरहरु क्षितिजसम्मै टमक्कै भरिएका छन् । बडो कुतुकमय छ पहाडी भूगोलको यो कला । आँखाले हेर्न नभ्याउने ठाउँमा पनि पहाडका आकृति पुगेका छन् । सयपत्री फूलका पत्रहरु एकआपसमा जोडिए जसरी जोडिएर उभिएका पहाडका भिन्नभिन्न आकृतिमा प्रकृतिको विहंगम कला छरिएको छ । आँखा झिमझिम गर्दै एकोहोरो हेरिरहे भारतबाट आएका कविहरुले । ‘आप लोगों को तो ये नजारा सामान्य लगता होगा, हमारे लिए तो ये दिलकश हंै, भूतो न भविष्यति है’ सुशिल शैलीले पोखिरहे मनको प्रफुल्लता । मोटो शरिर भएकी बबली वशिष्ठ र मधु शर्मालाई भने उकालो ओरालो गर्न सकस नै प¥यो तर अंचल पुतलीजस्तै उनीहरुका आँखा भने नाचिरहे हिलेका पाखाभरी ।

सबैभन्दा बढी रमाए अशोक भाटीदम्पत्ति । ‘हमारे लिए तो हनिमुन जैसा हो रहा है’ । मनको खुसी यसरी पोखिरहिन् उनकी पत्निले । छोरा एमबिबिएसमा पढिरहेको भए पनि उनीहरु भरखर बिहे गरेर हनिमुनमा आएको जोडीजस्तै देखिएका छन् देखिन पनि । मनको खुसीले अनुहारलाई उज्यालो पार्ने र अनुहार उज्यालो भएपछि उमेर पनि घटेजस्तो हुन्छ कि क्या हो !मन लागुन्जेल पहाडका दृश्य हेरिरहने रहर नमेटिदै ओभानै आँखा लिएर झर्नु परिहाल्यो हिलेको बजार । होटेल व्यवसायी समितिले गरेको कार्यक्रममा सहभागि हुनु छ यहाँ । हिले पुगेर जसरी प्रकृतिको अनुपम सौन्दर्यको रसपान गर्न पाइयो कार्यक्रममा पुगेर झन् न्यानो आत्मियताको आस्वादन पनि गर्ने अवसर जु¥यो । होटेल व्यवसायी समितिका अध्यक्ष खगेन्द्र बस्नेतले खादा लगाईदिएर स्वागत गर्नु भयो भने तुम्बाको नमुना चिनो दिएर बिदाई गर्नु भयो । कहिल्यै मदिरा नपिउनेहरुले पनि स्थानिक प्रचलनको मान राख्दै हाँसेर ग्रहण गरे तुम्बा ।

केही भाषण भए, केही कविता पढिए, केही तस्वीर खिचिए ।  कार्यक्रम सम्पन्न गरेर हिलेबाट फेरि धनकुटै फकियौं । उही बाटो, उही बस, उनै यात्रु । अनि पुगियो उही होटेल । साँझपख एउटा सुरुचिपूर्ण कार्यक्रम शुरु भयो होटलको माथिल्लो तलाको प्रेक्षालयमा । धनकुटाका थुप्रै अनुहारहरु भेला भएका छन् कार्यक्रममा । आयोजक सल्लेरी साहित्य सङ्गम रहेछ । नेपाल भारत मैत्री साहित्य गोष्ठी नाम दिइएको छ कार्यक्रमको । कतिपय परिचितजस्ता लाग्ने आँखा, कतिपय अपरिचितजस्ता देखिने अनुहार छन् । आँखैआँखाले साट्यौं अभिवादन । उज्यालो अनुहार र तेजिला आँखा भएकी अनुजा पराजुलीले सम्हालिन् मञ्च । एकातिर उनको मादक सौन्दर्य, अर्कोतिर उनको श्रुतिमधुर उद्घोषणकला । बीचैमा बिनायोको स्वर सुनेर लट्ठिएको सर्पझैं हल्लीरहेका छौं हामीहरु । दुबै कुराको समिश्रणद्वारा उनले बिछट्टै गरी लोभ्याइन् हामीलाई । मन्चमा विराजमान छन् कलकत्ताका सुदर्शन कवि मार्तण्ड, आर्कषक व्यक्तित्वकी धनी गंगा सुवेदी र विराटनगरका हँसिला कवि विवश पोखरेल । विराटनगरकी कवियत्रि गीता निरौलाको पंचचामर छन्दको कविताले पनि भित्रैसम्म पुगेर काउकुति लगायो । विवश पोखरेलका मुक्तक र सुशील शैलीका सायरीले पनि निकै ताली पाए ।

हरियाणाबाट आएका योगेश समदर्शीको स्वर निकै रातसम्म गुञ्जिइरह्यो । उनले माइक छोड्न मन गरेकै थिएनन् तर समय नेटो काट्न लागिसकेको थियो । केही औपचारिकता र केही अनौपचारिकताका चरण पुरा गरेर अन्ततः मध्यरातमा समापन भयो कार्यक्रम ।
खाना खाएर सुत्न जाँदा निकै ढिलो भैसकेको थियो । आँखाभरी निंद आएर लोलाउन थाले पनि मनको सप्तकोशी भने हजार जिज्ञासा बोकेर उर्लिरह्यो एकोहोरो । रातभर तमोरको छालजस्तै एकोहोरो छचल्किरह्यो जिज्ञासाको पोखरी पनि ।

भोलिपल्ट बिहानैदेखि कुतकुतिन थाल्यो मन । हृदय छरपस्ट भएर पोखिन थाल्यो धनकुटाका सल्लेरी पाखाहरुमा । भिरालोभिरालो परेको डाँडामाथि थपक्क बसेको छ धनकुटा । चुुच्चो परेको पहाडको माथिमाथि साँगुरो बाटो लमतन्न सुतेको छ । त्यही बाटोलाई घेरेर वरिपरि घुचुमुच्च ठडिएका छन् घरका ताँती । अलि माथिपट्टिको अग्लो थुम्कोमाथि छरिएका छन् सरकारी कार्यालय भएका भवनहरु । वरपरका थुम्काभरि पनि देखिए घरैघर । जहाँजहाँ सजिलो ठाउँ भेटियो त्यहीं घर बनाइहाल्ने होडबाजी चलेजस्तो । घर बनाउन नमिल्ने ठाउँमा मात्रै सल्लाका रुख उभिएका छन् । सलक्क परेका सल्लेरी वनले भरिएका छन् परपरका पाखापखेराहरु । परपरका अग्ला डाँडाकाँडा र कराला, भिराला, चट्टाने पाखाहरुले बलियो गरि पहरा दिइरहेका छन् धनकुटालाई । ती चट्टाने पहाडहरुलाई नाघेर कसरी आइपुग्दो हो यहाँसम्म वतास? कसरी आउँदो हो घामको झुल्को? अग्ला हिम चुचुरालाई छोएर आउने चिसोचिसो वताससंग आँखा जुधाएर मस्किरहेझैं लाग्यो यहाँको परिवेश । भिन्नभिन्न पहाडी आकृतिहरुले बनाएको बहुरङ्गी सौन्दर्यले शोभायमान छ वातावरण । उसै पनि बैसाखे मौसम आफैमा कामुक हुन्छ नै ।

प्रकृतिले सबै कुरा मिलाएर राखेको भए पनि आधुनिक विकास भने यहाँ पनि अव्यवस्थित देखियो । जे मन लाग्यो त्यही, जहाँ मन लाग्यो त्यहीँ सिमेण्टका संरचना उभ्याइहाल्ने रोग यहाँ पनि पुगेको रहेछ । टाढाबाट हेर्दा वन, पाखा, पखेरा र डाँडा थुम्काहरु जति राम्रा देखिए सिमेण्टले बनेका संरचनाहरु भने कूरुप देखिन्छन् ।

सुन्तला धेरै पाइन्छ रे धनकुटामा । त्यही भएर यसलाई सुन्तलाको राजधानी पनि भनिंदो रहेछ । सुन्तलालाई लामो समयसम्म भण्डारण गरेर राख्ने व्यवस्था गर्न सकेको भए वैसाखसम्मै चाख्न पाइन्थ्यो होला । हामीले भने सुन्तलाको बोट हेरेरै चित्त बुझायौं । धनकुटा बजारका मूल सडकका घरको अघिल्लो भागमा सुन्तला रङ्ले पोत्ने अभियान चलेको रहेछ । ‘धनकुटालाई सुन्तलाको राजधानी’ भनेर चिनाउने प्रयास हो यो

— पत्रकार संतोषी राई एउटै रङले घर रङ्गीनुको कारण सुनाउँछन् । रमाइलै लाग्यो यो अभियान पनि ।

धनकुटाको प्राकृतिक सौन्दर्यले लोभ्याउने र लोभ्याइने चलन पुरानै हो । प्रधानमन्त्री देवशम्शेर राणा पनि कुनै समय लोभिएर यतै आइपुगेका थिए । काठमाडौंबाट सत्ताच्युत भएर धपाइने बेला कहाँ बस्ने भनेर सोध्दा उनले धनकुटालाई रोजेका थिए रे । पुनः सत्ता हासिल गर्ने षडयन्त्र ग¥यो भनेर यहाँबाट पनि लखेटिएका देव शमशेरको व्याकुल मन यहाँकै जस्तो सौन्दर्य खोज्दै भौंतारिदा—भांैतारिदा अन्ततः भारतको मँसुरी पुगेर अडिएको थियो रे ।

धनकुटाको सौन्दर्यले मोहित हुनेमा राजा वीरेन्द्र पनि हुन् । उनले त पूर्वान्चल विकास क्षेत्रको केन्द्र धनकुटालाई नै बनाएका थिए । पूर्वी नेपालको देशदर्शनमा जाँदा धनकुटामैं उनको शिविर राखिन्थ्यो । राजाको सवारी शिविर महिनौंसम्म यहाँ रहँदा यो ठाउँले पनि राजधानीकै गौरव पाउँथ्यो । नेपालमा संघियताको शुरुआत भएपछि प्रदेश नं. १ को राजधानी सुहाउने उपयुक्त ठाउँ धनकुटानै भए पनि राजनीतिक खिंचातानीले त्यो गौरव हासिल गर्न सकेको छैन यसले ।

एउटा भनाई छ सर्वाङ् सुन्दरी वा रुपसी नारीको नाम राख्नै पर्दैन । उसलाई बोलाउने राम्राराम्रा नामहरु स्वतः प्रस्फुटन भै हाल्छन् । सुन्दरी वा रुपसी नारीले श्रृङ्गार गरिरहनु पनि आवश्यक हुँदैन । किनकि जति छोप्न र जति लुकाउन खोजे पनि त्यो सुन्दरता येनकेनप्रकारेण प्रदर्शित भएरै छोड्छ । धनकुटालाई राजधानी बनाए पनि, नबनाए पनि यसको प्राृकतिक परिचय कसैले लुट्न सक्दैन । कसैले भौतिक विकास गरे पनि, नगरे पनि धनकुटा ‘पूर्वकी रानी’ थियो, छ र रहिरहनेछ । ‘सुन्तलाको राजधानी’ हो र रहीरहने छ ।

दुई हजार छहत्तर साल जेठ सत्र गतेको एकदिन यही सुन्तले राजधानीको परिभ्रमण गरेर कटाउन पाउनु एउटा मीठो आकस्मिकता बन्यो मेरो लागि । पूर्वकी रानीको अँगालोमा एकरातका केही घण्टा बिताउन पाउनु त अहोभाग भैहाल्यो । धनकुटाको दृश्यावलोकनमैं यसरी लिप्त भएँ कि म रमेश पौडेलको आग्रहलाई स्वीकारेर अन्तर्वार्ताको निम्ती रेडियो नेपालको पूर्वान्चल प्रसारण केन्द्रसम्म पुग्न पनि भ्याइनँ । अलिकति ओरालो झरेर कचिडेसम्म पुगि शब्दसाम्राज्ञी झमक घिमिरेको दर्शन गर्न पनि सकिएन । सूर्यबहादुर थापाको गाउँ मुगा र अलि पल्तिरको पार्खिबाससम्म पनि पुग्ने रहर अधुरै रह्यो । पूर्वेली रानीले मेरो मनलाई यसरी बाँधिन् कि म एकोहोरो लट्ठीरहें, लट्ठीरहें ।
तल्लो कोप्चेबाट प्राज्ञ गंगा सुवेदीज्यूको कारमा बसेर ओरालो झर्दै गर्दा हिजो दिनभरीका स्मृति कुसुमहरु मनभित्र पुनः छचल्किन थाले । कुरकुरे बैंस झैं मात्तिएका आँखाहरु कहिले वल्लो पाखोमा ठोक्किइरहे । कहिले पल्लो पाखोमा टाँस्सिइरहे । मनभित्र झल्यास्स केही शब्दहरु फुरे र मोबाइलको

नोट प्याडमा अङ्कित गरिहालेँ :
अलिकति ज्ञानार्जन गराउँछिन् यी धराले
अलिकत प्रेमार्जन गराउँछिन् यी धराले
पखालेर कल्मष र अहमको दुर्भावलाई
अलिकति पूण्यार्जन गराउँछिन् यी धराले

भर्खरै

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको : शेखर कोइराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलिको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने...

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको :महामन्त्री कोईराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए...

काँग्रेस नेता कोइराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउदै

नागरिक आवाज कञ्चनपुर , माघ ८ नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं चर्चित नेता डाक्टर शेखर कोईराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउने भएका छन् । प्रधानमन्त्री मन्त्री...

दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने कम्युनिस्ट लाल गद्दार हुन : काँग्रेस नेता बिष्ट

  कञ्चनपुर माघ ८ जनताले बिश्वास गरि प्रचण्ड बहुमत दिएर नेकपालाई सरकारमा पठाएको जनताको त्यो गुन बिर्सने यि कम्युनिस्ट लाल गद्दार हुन नेपाली काँग्रेस कञ्चनपुरका नेता...