Friday, December 4, 2020

यस वर्षको भाई टीकाको साइत बिहान ११ः३७ बजे उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाई टीकाको उत्तम साइत बिहान ११ः३७ बजे भएको जनाएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ । कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।

अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ ।

औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ । गाई, गोरु र आत्म ९म्ह० पूजा भने कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ । म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ ।

समितिले स्वीकृति दिने तीन पात्रो ९पञ्चाङ्ग० नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग ९पात्रो० मा उल्लेख गर्नुभएको छ ।
भाई टीकाकै दिन नेपाल संवत
भाई टीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ । शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मङ्सिर १ गते नै मनाइन्छ ।

मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । यसैले मङ्सिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायका केही समूहले भने मङ्सिर २ गते भाइटीका लगाउने समाचार सार्वजनिक गरेका थिए ।

मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ ।

भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक मनाइन्छ । तिहारमा कार्तिक कृष्ण त्रयोदशीको साँझदेखि कार्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीप दान गरिन्छ ।

यमदीप दान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । काग र कुकुरलाई पनि यमदूतका रुपमा मीठा परिकार खान दिएर खुशी बनाउने वैदिक परम्परा छ जसबाट यमलोकमा सहयोग हुने विश्वास गरिन्छ ।-रासस

भर्खरै

         नियात्रा: ‘कञ्चनजङ्घाको पारिलो काख’ खगेन्द्र गिरी 'कोपिला' गान्तोकमा तीन रात बिताएर चौथो दिनको बिहानीपख बिदाई हुने समय पनि आइपुग्यो । बिदाई भन्ने बित्तिकै...

गजल धनीलाई यहाँ पेट घटाउने चटारो छ। गरिबलाई भने छाक टार्नुको हतारो छ। पाल्न त पाल्यौ गाईजस्तै गरेर सरकार। तर यो त ब्याउँदै नब्याउने ओथारो छ। उपल्लो दर्जालाई महलको...

जनशक्ति अभावकै कारण पुनर्वासमा अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन

जुद्ध चौधरी,कञ्चनपुर । कञ्चनपुरको जिल्लाको पुनर्वास नगरपालिकामा दक्ष जनशक्ति अभावकै कारण अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन बनेको छ । गर्भवती महिलाको गर्भावस्था चेक जाँच गर्न...

पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयको शिलन्यास

कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । बिहिवार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा र...