नागरिक आवाज
कञ्चनपुर , पुस २१
हालै नेकपामा आएको बिभाजन र संसद विघटन भए लगत्तै नेकपाका नेताहरुले जनमतको अपमान गरेको भन्दै कञ्चनपुरको दक्षिणी क्षेत्रमा कम्युनिस्ट कार्यकर्ताहरुले बिकल्पको रुपमा नेपाली काँग्रेसलाई रोज्न थालेका छन् ।
कञ्चनपुरको लालझाडी गाउँ पालिका दुई दिन यता सय जना कार्यकर्ताले नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
स्थिर सरकार र सुशासनका लागि नेकपालाई जनताले प्रचण्ड बहुमत दिए पनि कम्युनिस्ट नेताहरुले जनादेशको अपमान गरेको भन्दै नेपाली काँग्रेसले मंगलबार लालझाडी गाउँपालिका ३ मा आयोजित कार्यक्रममा शालु रानाको नेतृत्वमा ६० जना स्थानीय कार्यकर्ताले नेकपा परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका हुन ।
नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा पुर्व साँसद दिवान बिष्टले नेकपा कार्यकर्ताहरुलाई काँग्रेसमा भित्र्याएका हुन ।
दुई दिन अघि मात्रै सोही गाउँपालिकाका नेकपा गाउँ पालिका कमिटीका सदस्य विशाल चौधरी सहित ३५ जनाले काँग्रेस प्रवेश गरेका थिए ।
नेकपा सरकारका प्रधानमन्त्री केपी ओलिले संसद विघटन गर्दै पार्टी बिभाजन गरे लगत्तै कञ्चनपुरको दक्षिणी क्षेत्रमा कम्युनिस्ट पार्टीको बिकल्पका रुपमा नेपाली काँग्रेस रोज्नेहरुको संख्यामा वृद्धि देखिन थालेको छ ।
मंगलबार लालझाडी गाउँपालिकामा नेपाली काँग्रेसले आयोजना गरेको कार्यक्रममा पुर्व साँसद दिवान बिष्ट , पुर्व क्षेत्रीय सभापति तथा बेलौरी नगरपालिकाका मेयर उम्मेदवार हरेन्द्र सिंह बिष्ट , प्रदेश सभा उम्मेदवार गोपाल गुरुङ लगायतका नेताहरुको कार्यक्रममा उपस्थिती रहेको नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले जनाएको छ ।
