नागरिक आवाज
कञ्चनपुर फागुन ३
प्रतिनिधि सभा विघटनको मुद्दा अहिले सर्वोच्चमा विचाराधिन रहेकाले सर्वोच्चको निर्णय आफूहरुलाई स्वीकार हुने नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले बताए ।
सरकारको बिरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैतडीको सदरमुकाम गोठालापानीमा आयोजना गरेको सभामा बोल्दै नेता लेखकले भने- संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम हो । नेपाली कांग्रेसका नेता लेखकले संसद विघटन सर्वसत्तावादी चिन्तनबाट भएको बताए ।
उनले भने ‘संसद विघटन संविधान विपरीत छ । हामी यो बिषयमा स्पष्ट छौं । प्रधानमन्त्रीले सर्वसत्तावादी चिन्तनले संसद विघटन गरेका हुन् ।’

विरोधसभामा बोल्दै नेता लेखकले सरकारको कदम अलोकतान्त्रिक र असंवैधानिक भएपनि सर्वोच्चको निर्णय भने आफूहरुले मान्ने बताए । आफ्नो पार्टीभित्र कुनै विवाद नरहेको बताउँदै नेता लेखकले नेकपामा ठूलो भुइचालो गएको उल्लेख गरे । नेता लेखकले भने- ‘अहिले नेकपामा ठूलो भुईचालो गएको छ । यसको पराकम्प नेपाली कांग्रेसमा जानु हुँदैन् । यसमा हामी सबै सजक हुनुपर्छ ।’
विरोधसभामा बोल्दै नेता लेखकले कांग्रेस हार्दा देशले हार्छ भन्ने कुरा स्पष्ट भएको बताए । गएको चुनावमा नेपाली कांग्रेस पराजित भएकै कारण अहिले देशमा यस्तो स्थिती आएको उहाँको दाबी छ । सरकारले संसदको हत्या गरेको समेत उनले बताए ।
यस्तै नेता लेखकले बलात्कारपछि हत्या गरिएकी भागरथीका हत्यारालाई छिटो पत्ता लगाउन सरकारसंग माग गर्नुभयो । भागरथीको न्यायका लागि आफ्नो पार्टीले सबै प्रकारका पहल गर्ने नेता लेखकले बताए ।
आफूलाई पार्टीले भागरथीको हत्याका बिषयमा बुझ्न पनि पठाएकाले यही फागुन ५ को केन्द्रिय समिति बैठकमा प्रतिवेदन पेश गर्ने बताए । नेता लेखकले आफू मन्त्री भएको बेला सुदूरपश्चिमका थुप्रै भौतिक पूर्वाधारका कामको शुरुवात भएपनि अहिले ती योजनाहरुमा बजेटको अभाव भएको दाबी गरे ।
नेपाली कांग्रेस बैतडीले संसद विघटनको विरोधमा आयोजना गरेको विरोधसभामा नेपाली कांग्रेस नेता एवं पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, जिल्ला सभापति नरेन्द्रसिंह थापा, उपसभापति चतुरबहादुर चन्द, जिल्ला सचिव बीरबहादुर बिष्ट, महासमिति सदस्य उत्तरबहादुर ऐर, केशवबहादुर चन्द लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।